मुख्य समाचार :


जीटीए मदन हत्याकाण्डसँग गरेको सौदा मात्र हो-भारती तामाङ

मनोज वोगटी
कालेबुङ, 6 नोभेम्बर।
छुट्टैराज्य गोर्खाल्याण्ड बाहेक कुनै पनि सम्झौता हुनु नहुने अनि छुट्टैराज्यको कुरा छोडेर दागोपाप वा त्यस्तै परिषद् ताक्नेहरूको निम्ति बाटोको कॉंडा रहेको गोर्खालीग नेता मदन तामङको हत्याराहरूको अझसम्म टुङ्गो लागेको छैन। कसैले राम्रो नमान्ने वामफ्रण्टको सरकारले दार्जीलिङमा भएको कुनै पनि राजनैतिक हत्याको मामिलालाई न्याय दिएन तर धेरैले राम्रो मानेको तृणमूलको सरकारले पनि दार्जीलिङमा भएको कुनै पनि राजनैतिक हत्याबाट रहस्यको पर्दा उठाएन। गोरामुमोकालमा 12 सय भन्दा धेरैको हत्या सीआरपी लगाएर गर्दै जनतामा आतङ्‌कको सिर्जना गरेर जनतालाई अब धेरै लामो आन्दोलन अघि बढाउन सकिँदैन भन्ने धारणाको विकास गरिएको थियो। गोरामुमो अध्यक्ष सुबास घिसिङले आन्दोलनलाई बिसाउँनी दिँदै शान्ति पुरस्कार थापेपछि सकिएको आन्दोलन दोस्रो चरणमा फेरि शुरू भयो। गोरामुमोकालमा धेरैको हत्या भए जस्तै गोजमुमोकालमा पनि भयो। गोजमुमोकालमा भएको उल्लेखनीय हत्या भनेको नै गोर्खालीग नेता मदन तामङको रहेको थियो। मदन तामङको हत्याको आरोप सोझै गोर्खा जनमुक्ति मोर्चालाई गएको मात्र होइन गोर्खालीगले हत्याका मास्टर माइण्डकोरुपमा मोर्चाका प्रायः सबै शीर्ष नेताहरूको नाममा  प्राथमिकी दर्ता गरिसकिएको छ। यसै मामिलामा पक्रा परेका मोर्चा केन्द्रीय नेता निकोल तामाङलाई लापता पारिएको छ। न त निकाल तामङलाई भेटिएको छ न त मदन तामङ हत्याकाण्डसित जोडिएकाहरूको नाम नै पर्दाफास भएको छ।
 गोर्खालीगले दाबी गरे अनुसार मदन तामङ हत्याकाण्डबारे भएको मोर्चाका शीर्ष नेताहरूको फोन ट्यापिङको डिजिटल फाइल अहिले मुख्यमन्त्री ममता व्यानर्जीको हातमा छ। मुख्यमन्त्रीले त्यो टेलिफोन ट्यापिङको डिजिटल फाइल सीबीआईको हातमा दिए हत्याराहरू सोझै कठघरामा पुग्नेछन्‌। लीगको भनाई अनुसार फोन ट्यापिङ मोर्चा अध्यक्ष विमल गुरूङ, सचिव रोशन गिरी लगायत अन्य नेताहरूको रहेको छ। फाइल सीबीआईको हातमा नदिएको कारण नै सीबीआईले केही गर्न सकिरहेको छैन। लीगले सीबीआईलाई बङ्गाल पुलिसले पनि सहयोग नगरेको आरोप पनि लगाइरहेको छ। यता मदन तामङले अघिबाट नै गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दा अर्को दागोपापसित साटी सकेको आरोप लगाइरहेका थिए। तिनले भनेका थिए, मोर्चाको दाउ दागोपापको चौकी र पैसा हो। उनीहरूको आन्दोलन छुट्टैराज्यको निम्ति होइन। अहिले तिनले भने जस्तै मोर्चा दागोपापको साटो अर्को व्यवस्था जीटीएको गठनतिर लागेको छ। आज समयसित बोल्दै भारती तामङले भनिन्‌, जीटीए मदन तामङ हत्याकाण्डसित गरेको सौदा मात्र हो। तिनको आशय के देखिएको छ भने मुख्यमन्त्री ममता व्यानर्जीको हातमा मोर्चाका नेताहरूले मदन तामङको हत्याकाण्डबारे बोलेका टेलिफोन ट्यापिङको डिजिटल फाइल छ। त्यो फाइल सीबीआईलाई दिएमा मोर्चाका ती नेताहरू कठघरामा पर्नेछन्‌। यसैकारण मदन तामङको हत्याकाण्डसित जीटीएको सौदा  मोर्चाका ती नेताहरूसित गरिएको हो। तामङले भनिन्‌, सीबीआईले आफ्नै पारामा यस मामिलाको निम्ति काम गरिरहेको छ। मलाई आशा छ कुनै न कुनै दिन म न्याय पाउनेछु। तिनले बताए अनुसार लीगले समयलाई पर्खने छ। तिनले भनिन्‌, समय बलवान छ। पर्खिनु पर्छ। मैले हरेश खाएको छैन। सीबीआईले जुन बचन दिएको छ, त्यो पुरा गर्छ भन्ने आशा गरेकी छु। यता लीग उपाध्यक्ष लक्ष्मान प्रधानले पनि सरकारले मदन हत्याकाण्डसित जीटीएको सौदा गरेकोले नै हत्याकाण्डको जॉंच प्रक्रियामा ढिल्याईँ भइरहेको बताए। तिनले भने, राजनैतिक परिवेशको कारणले नै जॉंचमा ढिल्याइ भइरहेको छ। सरकारले जीटीएको जस्तो व्यवस्थासित सौदाबाजी गर्ने काम गरेको छ। भारतवर्षको इतिहासमा नै यसरी हत्यासित सौदा गरिएको धेरै उदाहरणहरू छन्‌। सौदा नै गरियोस्‌, तर ढिलो छिटोको कुरा मात्र हो, भारती तामङ लगायत गोर्खालीगले न्याय पाउने नै छ। हामीले सीबीआईमाथि नै विश्वास गरेका छौं। राजीव गान्धीको हत्याकाण्डले पनि यस्तै सौदाबाजीको कारण नै न्याय नपाएको तिनले थपे। यद्धपि तिनले सीबीआईको कार्यप्रणालीमाथि नै विश्वस्त रहेको बताउँदै न्याय पाउने आशा व्यक्त गरे। तिनले अहिले मदन तामङको हत्याकाण्डसम्बन्धमा नै लीग अल्झिरहेकोले कुनै पनि राजनैतिक क्रियाकलाप गर्न नसकिएको बताउँदै  भागोपको सामुहिकताको पहललाई सराहनीय बताए। तिनले भागोपको बैठकमा लीगबाट जाने प्रतिनिधिहरूको समेत छनौट भइसकेको बताउँदै तिनले भने, भागोपले नै सबै दलहरूलाई एक गरेर राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन अघि बढाउने छ भन्ने कुरामा लीगले विश्वास गरेको छ, यसैकारण लीगले भागोपको पहललाई समर्थन गरेको छ।

0 comments: on "जीटीए मदन हत्याकाण्डसँग गरेको सौदा मात्र हो-भारती तामाङ"